झापा प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ परेको छ। पक्राउ पर्नेमा झापाकै विर्तामोड नगरपालिका-४ मेघाबारी का २४ वर्षीय सुवास ताजपुरीया र उनका भाई १९ वर्षीय प्रविण ताजपुरीया छन्। बुधबर दिउँसो प्रहरीले उनीहरू दुई भाइ पक्राउ परेका हुन्।
नेपाली रु १००० दरको नक्कली नोट ८८ थान, नेपाली ५०० दरको नक्कली नोट दुई थान, नक्कली अष्ट्रेलियन डलर १०० को तीन थान र विभिन्न देश ११ थान नोट उनीहरूबाट बरामद गरेको छ।
यस्तै,मोबाइल ४ थान र ठगीका लागि प्रयोग हुने मे ५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रूपैयाँ समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरूका साथबाट प्रहरीले अवैध लागूऔषध समेत बरामद गरेको छ। प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रजेपाम २८ ट्याब्लेट फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।
नक्कली नोटको पहिचान कसरी गर्न सकिन्छ?
नेपाल राष्ट्र बैंकका अनुसार नोटमा रहेका आँखाले देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ।
सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालीगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ। नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रुपमा देखिंदैन।
सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजी ठूलो अक्षरमा एनआरबी लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन। नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन सक्दछ।
सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ। नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन।
सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिँदैन तथा लत्पतिँदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ।
