काठमाडौं– सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट मागको आदेश दिएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले बुधबार दुवै पक्षको बहसपछि फैसलाका लागि बहस नोट माग गर्ने आदेश दिएको हो।
महाभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि संसद्बाट फुकुवा भएको पत्र प्राप्त गरेका चोलेन्द्रको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश भएको हो। गत १ फागुनमा सर्वोच्चको प्रधानन्यायाधीश रहेका राणामाथि तत्कालीन सत्तारुढ दलले महाभियोग दर्ता गराएका थिए।
महाभियोग दर्ता भएलगत्तै निलम्बनमा परेका चोलेन्द्रको अवकाश प्राप्तिपछि पनि उक्त विवाद निष्कषर्मा पुग्न सकेको छैन। गत १ मंसिरमा संघीय संसदका महासचिव भरतप्रसाद गौतमले महाभियोग फुकुवा भएको पत्र चोलेन्द्रशमशेरलाई लेखेका थिए।
त्यस पत्रविरूद्ध वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले संवैधानिक इजलासमा संसद्को महासचिवले महाभियोग फुकुवा भएको निर्णय गर्न नसक्ने उल्लेख गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सोही विवादमा बुधबार बहस नोट मागिएको हो।


