काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभरका पहाडी भेगमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला काठमाडौं उपत्यकाका केही ठाउँमा वर्षा भइरहेको हो।
उनले भनिन्, ‘अहिले काठमाडौं उपत्यकाका कतै–कतै र वरिपरि छिटपुट वर्षा भइरहेको छ। दिउँसो धेरै बेर वर्षा हुने सम्भावना छ।’ आज काठमाडौं उपत्यकामा दिनभरै बदली हुनेछ भने घाम देखिने सम्भावना न्यून छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (अकासमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का पानी पर्ने सम्भावना छ।
बिहीबार राती कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ। महाशाखाले आगामी २४ घन्टा (शुक्रबार बिहान ६ बजेसम्म) चेतावनी तथा परामर्श जारी गरेको छ।
त्यसमा भनिएको छ– कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिन्छ।
