काठमाडौँ – कृषि अनुदान लिएर भ्रष्टाचार गरेको आरोपमा हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायालाई विशेष अदालतले दोषी ठहर गर्दै २ वर्ष कैद सुनाएको छ।
विशेष अदालतले उनलाई ९ लाख ७५ हजार रुपैयाँ असुल्नुपर्ने र त्यति नै जरिवाना गराउन समेत भनेको छ। स्वार्थ बाझिने गरी परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्।
विशेषले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै त्यति नै कैद, असुलउपर र जरिवानाको फैसला गरेको छ।
गाँउपालिकाका अध्यक्ष रोकायाले आफ्नो कोइलिङ पशुपालन उपभोक्ता समितिको अध्यक्ष बनाएर एउटै आर्थिक वर्षमा दुई पटक रकम विनियोजन गरेका थिए। दिएको अनुदानमा कुनै काम नभएको भनी अख्तियारमा उजुरी परेको थियो।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका ज्ञामी बुमीलाई हराउँदै गठबन्धनबाट नेपाली कांग्रेसका रोकाया निर्वाचित भएका थिए।
