काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिभन्दा पर बस्न सुझाव दिएका छन्।
ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरू’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै फेरि राजनीतिमा आएर केहीको मात्रै बन्ने कि पर बसेर सामाजिक परिवर्तनको नायक बन्ने भण्डारीकै हातमा रहेको बताए। कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी पनि सहभागी थिइन्।
‘पूर्वराष्ट्रपति फेरि राजनीतिमा आउन चाहनुभएको हो कि साथीहरूले इच्छा राख्नुभएको हो कि भन्ने पनि चर्चा छ। यहाँको सफलताको म सम्मान गर्छु। यदि कसैले मलाई तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिले के गर्नुपर्छ भनेर सोध्नुभयो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको छ,’ उनले भने, ‘राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ। राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि छ।’
पूर्वराष्ट्रपति भण्डारी एमालेमै सक्रिय हुन खोजेको चर्चा भइरहेको छ। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ भने माओवादी केन्द्रको बैठकमा सहभागी भएर सक्रियता जनाइसकेका छन्। पुन माओवादी बैठकमा गएसँगै भण्डारी पनि एमालेमा फर्कने भय एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केही नेताहरूलाई छ। पुन माओवादी बैठकमा गएकै दिन केपी शर्मा ओलीले विद्या भण्डारीसँग भेटेर दुई घण्टा लामो कुराकानी गरेका थिए।
यसअघि पटकपटक ओलीले विद्यालाई राजनीतिमा नफर्कन सार्वजनिक मञ्चबाटै आग्रह गर्दै आएका थिए।


