काठमाडौँ- विद्युतीय चुरोट (भेप)मा राखेर सुन तस्करी गरेको आरोपमा १२ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। भेपमा राखेर ९ किलो सुन तस्करी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका नासु रेवन्त खड्कासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदन र सिफारिसका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
यो प्रकरणमा नासु खड्कासहित दिनेश बस्नेत, अमृत कार्की, रामकेशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मरगले, राहुल भनिने रेशम महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापा छन्। उनीहरूमध्ये रोजन र प्रेरणालाई भने सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको छ।
उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
यसअघि उनीहरूविरुद्ध आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ। गत भदौ १६ गते भएको फैसलामा खड्कालाई दुई वर्ष ६ महिना कैद र २५ हजार जरिवाना, दिनेश बस्नेतलाई एक वर्ष ६ महिना कैल र १५ हजार जरिवाना, निर्मलकुमार विकलाई ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाइएको थियो।
त्यस्तै, वेदप्रकाश र साहेव रावविरुद्ध जनही ४५ हजार जरिवाना सुनाइएको थियो। दावा र राहुललाई जनही एक वर्ष दुई महिना कैदको फैसला सुनाइएको थियो। लोकेन्द्रले सफाइ पाएका थिए। राम केशव र अमृतको जग्गा जफतको फैसला भएको थियो।
यसरी भएको थियो तस्करी
२०७९ पुस १० गते चिनियाँ नागरिक लि ह्यानसङ्गले सुटकेसमा भेपभित्र लुकाएर सुन लिएर काठमाडौँ विमानस्थल अवतरण गरे। सुटकेश शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लियो। तर त्यसमा सुन भएको यकिन भने हुन बाँकी थियो।
तर भन्सारले होसाङले भने छोडिदियो। भोलिपल्टै उनी चीन फर्किए।
भन्सारले लिएको उक्त सुटकेस पछि गायब पारियो। त्यसपछि भन्सारकै कर्मचारीको मिलेमतोमा सुन तस्किरी भएको विषय सार्वजनिक भएको थियो।
