काठमाडौँ– पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति ११ बजेतिर चावहिलस्थित हेल्पिङ ह्यान्डस् अस्पतालमा पुडासैनीको निधन भएको हो।
पुडासैनी कार्यरत नेपाल भ्युज डटकमका सम्पादक मधुसुदन पन्थीका अनुसार काम सकेर राती १० बजेतिर चाबहिल सरस्वतीनगरस्थित कोठामा फर्किएका थिए।
कोठामा फर्किएको केहीबेरमै साढे १० बजेतिर उनी एक्कासी ढलेका थिए। त्यसपछि घरबेटी र छिमेकीले उनलाई चावहिलस्थित हेल्पिङ ह्यान्डस् अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनको निधन भएको घोषणा गरेका थिए।
नुवाकोट स्थायी घर भएका पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए। त्यसअघि उनले हिमालय टाइम्स, माउन्टेन टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन र रेडियो अन्नपूर्णलगायत सञ्चारमाध्यममा समेत काम गरेका थिए।
पुडासैनीका नजिकका नवराज कुँवरका अनुसार केही दिनयता उनी बिरामी थिए। पत्रकार गणेश पाण्डेले पत्रकार पुडासैनीको निधनपछि फेसबुकमा लेखेका छन्, ‘प्रेस चौतारी नेपाल एशोसिएट प्रदेश उपाध्यक्ष श्याम सुन्दर पुडासैनी भाइ, तिम्रो शरीरलाई छाम्दा तिमी जुरुक्क उठ्छौ जस्तो लाग्छ। तर, अस्पतालमा तिम्रो मृत शरीर अगाडि उभिँदा मलाई असाध्यै पीडा भएको छ। अकस्मात् यो तिमीलाई के भयो? प्रिय भाइ तिमी उठ! प्लिज भाइ!’


