विराटनगर- नेकपा एमालेको साधारण सदस्यसमेतबाट निष्काशनमा परेका भीम रावलले उद्घाटन गर्ने कार्यक्रम राजनीतिक दबाबका कारण सारिएको छ। सुनसरीको भरौलमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटनका लागि रावल पुग्ने भएपछि एमालेले दबाब दिएपछि आयोजकले अन्तिम समयमा कार्यक्रम सारेको हो।
कार्यक्रम उद्घाटनका लागि रावल आयोजककै गाडीमा विमानस्थलबाट हिँडेका थिए। तर उद्घाटन सरेपछि उनी भरौल चोक पुगेर फर्किएका हुन्। नेकपा एकीकृत समाजवादीका एक नेताले उनले उद्घाटन गर्ने तय भएको कार्यक्रम एमालेको दबाबमा सारिएको हो।
‘उहाँ आउनु भएको थियो तर उद्घाटन नै सरेपछि मैदान पुग्नु भएन्। भरौल चोकबाटै फर्कनुभयो,’ एकीकृत समाजवादीका एक नेताले भने। ती नेताका अनुसार नेकपा एमाले नेताहरूले दबाब दिएका कारण प्रतियोगिताको उद्घाटन सरेको हो। आयोजकले पनि राजनीतिक दबाबका कारण उद्घाटन सरेको उल्लेख गरेको छ। कार्यक्रम २२ पुससम्मका लागि सारिएको आयोजकले जानकारी दिएको छ। मैदानको निर्माणकार्य नसकिएकाले दुई दिनका कार्यक्रम सारिएको आयोजकको भनाइ छ।
एमालेको कारबाहीमा परेका नेता भीम रावल काठमाडौँबाट जहाजमा विराटनगर विमानस्थल पुगेका थिए। उनलाई नेकपा (एकीकृत समाजवादी) र दुर्गा प्रसाईंका समर्थकले स्वागत गरेका छन्। उनलाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिल आलम पनि पुगेका थिए। यस्तै दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान’का सदस्य सतीश पोखरेल पनि विमानस्थल पुगेर रावललाई स्वागत गरेका थिए।
भरौल चोक पुगेर फर्किएका रावलले मोरङ र सुनसरीमा भेटघाटमा लागेका छन्।
