काठमाडौँ- नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा हालै निर्वाचित भएर आएको पदाधिकारी टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ। सोमबार अध्यक्ष निर्मला शर्माको नेतृत्वमा महासंघ केन्द्रीय समिति पदाधिकारीको टोली पौडेलसँग भेटका लागि शितल निवास पुगेको हो।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासंघले पुर्याएको योगदानको प्रशंसा गरेका थिए। लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने उनको भनाइ थियो।
‘स्वतन्त्र र निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ भएकाले नै हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ,’ उनले भने, ‘त्यही भएर लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मूख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु।’
राष्ट्रपति पौडेलले श्रमजीवि पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि नवनिर्वाचित नेपाल पत्रकार महासंघको कार्यसमितिले आगामी दिनमा अझै प्रभावकारी ढंगले काम गर्ने विस्वास व्यक्त गरेका थिए।


