काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन्।
मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तर्क्रियामा उनले भने, ‘शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको हो।’
‘हामी राजनीतिक दलका नेताहरू जसले यो शासकीय जिम्मेवारी लिन्छौं, हामी कोही पनि संघीयताप्रति उदार छैनौँ। हामी एकदमै अनुदार छौँ,’ उनले भने, ‘हाम्रो यसमा रुची छैन। हामी यसलाई यसैबाट अघि बढाउँछौँ भन्ने छैन।’
महामन्त्री थापाले शीर्ष नेताहरू संघीयताप्रति अनुदार हुँदा विकासका कामहरू हुन नसक्ने बताए।
‘मैले नयाँ दल पनि हेरेँ। मैले यो क्षेत्रीय दलहरु पनि हेरेँ। सँगै सरकारमा पनि बस्यौँ। जसले बाहिर जे-जे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन,’ उनले भने, ‘संघीय निजामती विधेयकमा, संघीय प्रहरी विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन।’
दलका नेताले बाहिर र भित्र फरक कुरा गर्ने उनको आरोप थियो। महामन्त्री थापाले संघीयता नेपालमा अनवरत चल्ने र प्रदेशहरू रहिरहने बताए।


