काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बिदामा बसेकै बेला निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द शर्मा पौडेल र महानगरका कानुनी सल्लाहकार शेखरकुमार पौडेलले राजीनामा दिएका छन्।
आफ्नो कार्यकाल सकिन लागेका बेला प्रशासनिक कामको बोझ नलिने भन्दै निमित्त प्रशासकीय अधिकृत शर्माले राजीनामा दिएका हुन्। उनी शिक्षा विभागका प्रमुखसमेत हुन्। उनको राजीनामा स्वीकृत हुन बाँकी छ।
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले कार्यपालिका बैठकबाट मात्रै राजीनामा पास हुने बताए।
शर्मालाई ९ पुसदेखि निमित्त तोकिएको थियो।
काठमाडौं भ्यु टावरको कानुनविपरीत नक्सापास गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कारबाहीमा परेपछि शर्मालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो।
शर्मासँगै महानगरका कानुनी सल्लाहकार शेखरकुमार पौडेलले पनि राजीनामा दिएका हुन्। शर्मा गुरागाईँमाथि छानबिन गर्न गठन गरिएको समितिका संयोजकसमेत हुन्।
