काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले सक्रिय हुन नभनेको प्रष्टीकरण दिएका छन्। मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।
सोमबार र मंगलबार नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर प्रचण्डको आलोचना गरेपछि प्रचण्डले यस्तो जवाफ फर्काएका हुन्।
‘मैले पासाङजीलाई आउनु भनेको होइन। रिटायर्ड भएपछि म सक्रिय भूमिकामा आउनु चाहन्छु भनिरहनुभयो,’ प्रचण्डले भने।
केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको लहरमा बसेका थिए। तर प्रचण्डले ‘आमन्त्रितकै रुपमा बोलाएको’ दाबी गरे।
पूर्वउपराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रचण्डले पटक–पटक दोहोर्याएका थिए।
‘म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो,’ प्रचण्डको दाबी छ, ‘उहाँको स्पिरिट अनुसार कार्यविभाजन गर्ने वेला भित्र पनि कन्फुज नहुने, बाहिर पनि कन्फ्युज नहुने उपयुत्त हुने विकल्प खोज्छौँ,’ प्रचण्डले भने।


