काठमाडौँ- सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति कांग्रेससँगको सहमतिविपरीत रहेको बताएका छन्।
बर्दियामा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले यस्तो अभिव्यक्ति दिएका हुन्।
प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेकोसमेत उनको भनाइ छ।
‘हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन्। यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ,’ साउदले भने, ‘तर, यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमति विपरीत छ। यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ।’
सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन पनि साउदले आग्रह गरे।
फरक प्रसङ्गमा कांग्रेस केन्द्रीय सदस्य साउदले पार्टीको १५औँ महाधिवेशन २०८४ को निर्वाचन अगाडि नै हुनुपर्ने बताए।
पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूले गुटबन्दी चलाएकव उनको टिप्पणी थियो। ‘पार्टीको महाधिवेशन २०८४ को निर्वाचन अगाडि हुन्छ र हुनुपर्छ,’ उनले भने, ‘पार्टीको विधानले नै तय गरेको विषयमा अन्योल हुनुपर्ने विषय छैन।’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले नेकपा एमालेसँग सत्ता सहकार्य भए पनि कांग्रेसको प्रतिस्पर्धा पनि एमालेसँग नै हो भन्ने बिर्सन नहुने बताइन्।


