काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झिँगाले सराप्दैमा डिँगा नमर्ने टिप्पणी गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियू निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
नेकपा (एमाले)को अस्तित्व नै सकिदिने भनेर केही व्यक्तिहरू लागे पनि अहिले पनि आफूले सरकारकै नेतृत्व गरिरहेको उनको भनाइ थियो।
एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर आफूले सरकार चलाइरहेको उनले उल्लेख गरे। देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल एमाले नै रहेकोसमेत उनको भनाइ छ।
‘एमालेलाई मार्छौं, सिध्याउँछौं भने, उधुम कराए, कोही भाला लिएका छन्, कोही के बोकेका छन्। त्यस्तो गरेर कराए। यो चुनावपछि टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने। भित्तैमा टाँसिदिन्छु भन्न पुगे। एमालेलाई भित्तामा टाँसिदिने अरे क्या लगेर! भित्तामा टाँसेपछि फोटो भएन। एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने,’ उनले थपे, ‘के भनेनन्? को केपी ओली, को? को?, को केपी ओली? यति बिर्सिने भइसके क्या। यस्तै बिर्सिएको राम्रो! मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस्। केही छैन, अब को केपी ओली भन्ने कुरा म बताउन्नँ। मैले थाहा पाएको भनेको एउटा साधारण मान्छे हो। इमान्दारिताका साथ काम गर्छ। तर झिँगाले सरापेर डिँगा मर्ने भए! झिँगाले सराप्दा डिँगा मर्दैन भन्ने भनाइ छ,’ उनले भने। उनले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्नेसमेत बताए।
युवा शक्ति एमालेसँग छ की छैन भनेर फागुन १५ को स्ववियू निर्वाचनबाट अनेरास्ववियुले देखाउनुपर्ने उनको भनाइ थियो।
