पोखरा – गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको सचेतकमा प्रकाश बराल चयन भएका छन्।
बुधबार पोखरामा भएको दलको बैठकले संसदीय दल कार्यसमितिलाई पूर्णता दिएसँगै बरालले सचेतकको जिम्मेवारी पाएका हुन्।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ बाट बराल प्रदेशसभामा निर्वाचित भएका हुन्।
दलको उपनेतामा भने मुख्यमन्त्री एवं दलका नेता सुरेन्द्रराज पाण्डेले कास्कीकै विन्दुकुमार थापालाई मनोनीत गरेका थिए। प्रमुख सचेतक गोरखाकै नन्दप्रसाद न्यौपाने मनोनित भएका थिए।
दलको कोषाध्यक्षमा अशोककुमार श्रेष्ठ र सदस्य सचिवको जिम्मेवारी सरस्वती अर्याल तिवारीले पाएकी छन्। दलको कार्यसमिति सदस्यमा कल्पना तिवारी, दीपेन्द्रबहादुर थापा, दीलमाया पौवि, द्रोणकुमार कुँवर र रेखा गुरुङ चयन भएका छन्।
यसैगरी दलको बैठकले जितप्रकाश आलेको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरेको छ। उक्त समितिको सदस्यमा नम्दु गुरुङ र सरस्वती गुरुङ चयन भएको सचेतक प्रकाश बरालले जानकारी दिए।


