काठमाडौँ- तेह्रथुम जिल्लामा निर्माण भएका दुई वटा सहिद पार्कको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्।
आठराई गाउँपालिका-३ ह्वाकूमा रहेको बगाले सहिद स्मृति पार्क र लालिगुराँस नगरपालिकामा रहेको धनरूपा सहिद स्मृति पार्क आगामी माघ १४ गते प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री दुर्गाप्रसाद चापागाईंले जानकारी दिए।
लालीगुराँसको बसन्तपुर सहिद स्मृति सभाहल र बागालेमा जनयुद्ध र शान्ति संग्राहलयको शिलान्यास, पूर्वमा माओवादी आन्दोलनका अभियानता स्वर्गीय भक्तराज कन्दङवाको सालिक अनावरणको पनि कार्यक्रम राखिएको छ।
२०५८ साल माघ १४ गते तेह्रथुमको आठराई ह्वाकुस्थित बगालेमा तत्कालीन राज्यपक्षबाट भएको आक्रमणमा परी माओवादी सेनाका १८ जना र ३ जना मारिएका थिए।
उनीहरू मारिएकै स्थानमा अर्धकदको सालिक निर्माण गरिएको छ।
धनरूपमा सहिद स्मृति पार्कमा लालीगुराँसका ६ जना सहिदहरूको स्मारक निर्माण भएको छ।
तेह्रथुममा रहँदा लालीगुराँस नगरपालिकास्थित सांस्कृतिक पार्क चोलुङको अवलोकन पनि प्रचण्डले गर्ने कार्यक्रम रहेको चापागाईँले जानकारी दिए। यसका साथै जिल्ला स्तरीय पार्टी प्रशिक्षण लगायत कार्यक्रमसमेत रहेको बताइएको छ।


