काठमाडौँ– रास्वपा सभापति रवि लामिछाने आइतबार मात्रै काठमाडौँ जिल्ला अदालत हाजिर हुने भएका छन्।
शुक्रबार काठमाडौँ अदालतमा हाजिर हुने भनेर कास्की प्रहरीबाट छुटेका रवि अब आइतबार मात्रै अदालत जाने रास्वपाका नेता दीपक बोहराले जानकारी दिए।
बोहराका अनुसार रवि सडकमार्ग हुँदै काठमाडौँ आउने क्रममा छन्। पोखराबाट काठमाडौंका लागि सडकमार्ग हुँदै आउँदै गरेको बोहराको भनाइ छ।
‘उहाँ (रवि लामिछाने) आइतबार बिहानै ८:३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ,’ बोहराले फेसबुकमा लेखेका छन्।
कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने ८४ दिन प्रहरी हिरासतमा रहेर बिहीबार मात्रै धरौटीमा रिहा भएका थिए।
उनलाई ६५ लाख धरौटी रकममा रिहा गर्ने आदेश कास्की जिल्ला अदालतले दिएको थियो।


