काठमाडौँ- स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको बचत रकम अपचलनसम्बन्धी मुद्दामा बहस गर्न गर्नका लागि पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २० वकिल तयार पारेका छन्।
काठमाडौं जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका लामिछानेका पक्षबाट बहस गर्न २० जना वकिलले वकालतनामा लिएका हुन्।
रवि पक्षका अधिकांश वकिलहरू काठमाडौँ जिल्ला अदालत पुगिसकेका छन्। रास्वपाको अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेले रवि पक्षका वकिल जम्मा गरेका हुन्।
‘२० जना पुगिसक्यौँ। थप साथीहरू पनि आउन इच्छुक हुनुहुन्छ,’ न्यौपानेले भने। जाहेरवालाले पनि कानुन व्यवसायी थप्न सक्ने भएकाले बहस लम्बिने देखिएको छ।
वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ताहरू सुशील कुमार पन्त, रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा नारायण घिमिरे, अधिवक्ताहरू डा नारायण कँडेल, यज्ञमणि न्यौपाने, सुदीज्ञ पन्त, हरिचन्द्र भट्टराई, टीका ढकाल, गणेश शर्मा, मनिषा गौतम, मधु चौलागाईँसहितका वकिलले रविको पक्षमा पैरवी गर्ने भएका छन्।
