काठमाडाैँ- जय ट्रफी दुईदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागिय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनलमा भिड्ने भएका छन्।
लिगचरणको अन्तिम खेलमा आर्मीले मधेश प्रदेशलाई ८ विकेट तथा पुलिसले बागमतीलाई ५ विकेटले पराजित गरेसँगै दुई विभागिय टिमको फाइनल हुने पक्का भएको हो। प्रतियोगिताको फाइनल भने तीनदिवसीय हुनेछ।
अन्तिम खेलमा बागतमीले पहिलो इनिङमा १ सय १२ रन बनाउँदा दोस्रो इनिङमा २ सय १८ रन बनाएको थियो। पुलिसले पहिलो इनिङमा २ सय १५ रन बनाउँदै पहिलो इनिङमा १ सय ३ रनको अग्रता बनाएको थियो।
दोस्रो इनिङमा बागमतीको २ सय १८ रन सँगै पुलिसले १ सय १६ रनको लक्ष्य पायो। जुन लक्ष्य पुलिसले दोस्रो दिन ५ विकेट गुमाउँदै २३ ओभरमै पुरा गरेको थियो। जितसँगै पुलिसले ६६ अङ्क बनाएर शीर्ष स्थानमा लिगचरण अन्त गर्याे।
त्यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मधे प्रदेशलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गर्दै आर्मीले पहिलो इनिङमा ९ विकेट गुमाएर २ सय २५ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो। जवाफमा मधेशले १ सय २ रन मात्र बनाउन सकेपछि फलो अनमा परेको थियो।
उसले दोस्रो इनिङमा १ सय ५० रन बनाउँदे समग्रमा २८ रनको मात्र लक्ष्य दिन सफल भयो। उक्त लक्ष्य आर्मीले ६ ओभरमै २ विकेट गुमाएर पुरा गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो। आर्मी र पुलिसबिचको फाइनल विरगन्जमा मंगलबारबाट सुरु हुने छ।
