काठमाडौँ- नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। एनसीएचएलको २८ पुसमा सम्पन्न आर्थिक वर्ष २०८०/८१ को तेह्रौँ वार्षिक साधारणसभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बोनस शेयर वितरणपश्चात् एनसीएचएलको चुक्ता पुँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९ सय रुपैयाँ पुग्नेछ। साथै, सभाले अधिकृत पुँजी वृद्धि गरी २.२५ अर्ब पुर्याउने प्रस्ताव पनि पारित गरेको छ। कम्पनीले पुँजी वृद्धिमार्फत नेसनल पेमेन्ट स्वीच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नति गर्नेछ।
सभाले लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण पनि स्वीकृत गरेको छ।
त्यस्तै, आ.व. २०८०/८१ मा कम्पनीबाट फर्छ्योट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ। उक्त आर्थिक वर्षमा एनसीएचएलका भुक्तानी प्रणालीहरूमार्फत कुल १५६ खर्बबराबरको १२.६ करोड भुक्तानी कारोबारहरू राफसाफ भएका थिए।
सभाले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरू निर्विरोध रूपमा पुनः निर्वाचित गरेको छ। वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनः निर्वाचित भएका छन्।
एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका १ जना, वाणिज्य बैंकहरूबाट तीन जना, विकास बैंकहरू, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १–१ जना सदस्य रहने व्यवस्था छ।
एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत लगानी रहेको छ।


