सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ मा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा पाटन उच्च अदालतका न्यायाधीशसहित दुई जना छन्।
पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र उनीसँगै कारमा सवार मोरङको विराटनगर–४ का ७६ वर्षीय कृष्ण खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।
घाइते न्यायाधीश रेग्मीको कान, हात, खुट्टा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बीएबी ७१४६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो।
दुवै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।


