विराटनगर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका नेताहरूले सम्पत्ति विवरण बुझाउने मात्र नभई स्रोत पनि देखाउनुपर्ने बताएका छन्।
केही दिनअघि पार्टीको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण बुझाउनुपर्ने प्रतिवेदन पारित भएको थियो।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गैरकानुनी ढंगले कमाएको देखिए कारबाही गरिने पनि बताएका छन्।
‘कारबाही गर्नकै लागि त्यो भनिएको हो। हामीले पहिले पनि महाधिवेशनबाट पनि यो कुरा उठाएका थियौँ। त्यसलाई योजनामा ढालेका थिएनौँ। अहिले हामीले प्रदेश पदाधिकारी र केन्द्रीय समितिको र क्रमैसँग तलैसम्म सम्पत्ति विवरण बुझाउने मात्रै होइन, त्यसको स्रोत खुलाउने, जीविका कसरी चलिरहेको छ परिवार र परिवारको सदस्यको भनेर बुझ्न खोजेका छौँ,’ उनले भने।
उनले आफूले संसदबाटै त्यो कुराको प्रतिबद्धता गरेको पनि बताए। ‘मैले विश्वासको मत लिँदा संसदबाटै जनताप्रति प्रतिबद्धता जनाएको छु। हामी हाम्रो वर्गतिर फर्किन्छौँ, एजेण्डातिरै फर्किन्छौँ। कांग्रेस र एमालेतिर लागेर देशलाई पनि फाइदा पनि भएन र आन्दोलनलाई पनि फाइदा भएन भन्ने कुराकै त्यो अभिव्यक्ति हो,’ उनले भने।


