भरतपुर – नियमित चेकिङका क्रममा चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरेका छन्।
प्रहरीले युवकमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तै लात्ताले हानेको थिए।
प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङका क्रममा ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै ती युवकलाई कुटेको भिडियोमा देखिन्छ।
प्रहरीबाट जोगिन भाग्दा पनि प्रहरीले पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाएको भिडियोमा देखिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटनाबारे जानकारी पाएको र अनुसन्धान भइरहेको बताएका छन्।
डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको र घटना भएको लोकेसन भेरिफाइ भइरहेको प्रहरीको भनाइ छ। यद्यपि प्रहरी केन्द्रीय प्रवक्ता दिनेश आचार्यले भने यो भिडियो पुरानो भएको दाबी गरेका छन्।


