काठमाडौँ- नेपाल बार एसोसिएसनले ५औँ ल एसिया अन्तराष्ट्रिय मानव अधिकार सम्मेलनको आयोजना गर्ने भएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै बारले फागुन ३ गतेदेखि फागुन ५ गतेसम्म सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विशेष आतिथ्यता रहने छ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार सम्मेलनमा ३६ देशका ल एसियाका सदस्य तथा गैरसदस्यहरूसमेत गरी ३ सयभन्दा बढी प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्।
‘मानव अधिकारको सहनशीलता : प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरुको सामना’ भन्ने विषयवस्तुमा केन्द्रित हुने सम्मेलनमा मानवअधिकार वातावरणीय न्याय र आदिवासी/जनजाति समुदायका अधिकारसमेत गरी जम्मा तीन ट्र्याकमा १४ विषयगत सत्र हुनेछन्।
नेपालमा पहिलो पटक ल एसिया सम्मेलनको आयोजना गर्न लागिएको हो। सम्मेलनले नेपालको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने विश्वास बारको छ।
ल एशियाले कानूनी पेसाको हकहितका लागि आवाज मुखरित गर्ने संस्थाको रुपमा विगत ५० वर्षदेखि काम गर्दै आएको छ।


