चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको बताएका छन्।
चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताएका हुन्।
अध्यक्ष दाहालले भने, ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन। मैले धेरैचोटि भनेको छु, हाम्रो प्राथमिकता संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन।’
तर उनले यो सरकार २०८४ सम्म नटिक्ने हो कि भनेर आफूहरू चिन्तित भएको पनि बताए। ‘०८४ सम्म गए पनि ठिकै हो। जाँदैन भन्ने पो चिन्ता छ हामीलाई। गएन भने कांग्रेस त पार्टनर छँदैछ हाम्रो,’ उनले भने।
माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उनको भनाइ थियो।


