काठमाडौँ- नेकपा एमालेले तत्काल वामदेव गौतमलाई पार्टीमा नभित्र्याउने भएकव छ।
मंगलबार बसेको सचिवालय बैठकले नेता वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
वामदेवले आफू नमरुन्जेल एमालेमा जान लागेको कुरा माघ ६ गते कान्तिपुरले लिएको अन्तर्वार्ताका क्रममा बताएका थिए। ‘यति कुरा हो कि म एमालेमा नमरुन्जेल काम गर्न जाने हो,’ कुराकानीका क्रममा उनले बताएका थिए।
एमालेमा फर्कन आफू दुई वर्षदेखि संवादमै रहेको समेत उनको जिकिर छ। वामदेवले एमालेमा फर्कने कुरा गरेपनि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेशका लागि पनि कुराकानी गरिरहेका थिए। नेपालको नेकपा एसमा तेस्रो वरीयता लिएर जाने लगभग निश्चित भइसकेपछि वामदेव फर्किएर फेरि एमाले जान लागेको कुरा सार्वजनिक गरिदिए।
पुस १७ गते नेकपा एसको पार्टी कार्यालयमा भएको छलफलपछि वामदेव आफैँले आफू नेकपा एसमा जान लागेको बताएका थिए। ‘माधवजी र म एकजुट हुने भइयो नि त,’ सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले भनेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको विधान अधिवेशन आगामी २०८२ भदौ २०, २१ र २२ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने निर्णय पनि गरेको छ।
यसअघिको विधान अधिवेशन २०७८ पनि यहीँ भएको थियो। त्यस्तै पार्टीको गण्डकी, कर्णाली सम्पर्क तथा विशेष समन्वय कमिटीको प्रस्ताव अनुमोदन गर्ने निर्णय भएको छ।
यसैगरी माघ, फागुन र चैत महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्ने पनि निर्णय भएको छ। यो अभियानमा सम्पूर्ण पार्टी पंक्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने पनि निर्णय भएको छ।


