रुपन्देही- सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने भएको छ। योगीको इजलासमा रविको मुद्दा परेको हो।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा मुद्दाका लागि लामिछाने जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए।
लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित १४ जना र यसअघि गते वैशाख ३ गते २८ जनामध्ये ८ जना गरी २२ जनालाई आइतबार सहकारी ठगी र संगठित अपराध अभियोग लगाउँदै मुद्दा दर्ता भएको थियो।
लामिछानेको तर्फबाट कानुन व्यवसायी नारायणदत्त कँडेल र गोविन्दप्रसाद मरासिनीलगायतले बहस गर्ने छन्।
सुप्रिम सहकारी ठगीको अभियोगमा लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
यसअघि माघ २ गते काठमाडौँ कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीको अभियोगमा उनी ६० लाख धरौटी रकम बुझाएर रिहा भएका छन्।
यस्तै पुस २६ कास्कीको सूर्यदर्शन सहकारी ठगीको आरोपमा उनी ६५ लाख धरौटी रकम बुझाएर रिहा भएका थिए।
कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन प्रहरीको न्यायिक हिरासत बसेका थिए।


