काठमाडौँ- सिद्धबाबाको सुरुङमार्ग छिचोलिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन्।
स्वास्थ्यमा समस्या आएकाले शुक्रबारका लागि निर्धारण गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी नहुने भएका हुन्।
चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओलीले शुक्रबार पनि बालुवाटारमै आराम गर्ने भएका छन्।
यी कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुने भएका छन्।
प्रधानमन्त्री ओली मंगलबारदेखि नै अस्वस्थ छन्। उनको स्वर भासिएको बताइएको छ।
सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, बुटवल गोरूसिंगे सडकको स्तरोन्नतिको शिलान्यास, पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटनको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने बताइएको थियो।
प्रधानमन्त्री ओली पाल्पा र बुटवलका कार्यक्रममा भर्चुअल रूपमा सहभागी रहने सचिवालय स्रोतले जनाएको छ।


