काठमाडौँ- नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वामदेवकै कारण नेकपा एमालेले दुख पाएको बताएका छन्। गौतमले एमालेमा भित्रनका लागि कसरत गरिरहेका बेला एमालेकै नेताहरुबाट गौतमको आलोचना हुन थालेको हो।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले धनगढीमा आयोजित सामाजिक सञ्जालको प्रयोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गौतमले नेकपा फुटको एक कारक वामदेव भएको आरोप लगाए। वामदेव ठीक ठाउँमा उभिएको भए तत्कालीन नेकपा नफुट्ने गौतमको तर्क छ।
‘हिजो पार्टी एकीकृत हुँदा वामदेव गौतमको कारणले सबैभन्दा बढी एमालेले दु:ख पाएको थियो। उहाँ ठीक ठाउँमा उभिएको भए पार्टी अदालतबाट भङ्ग हुनुपर्ने परिस्थिति नै आउने थिएन,’ एमाले नेता राजेन्द्रले भने, ‘उहाँकै कारणले कहिले कता कहिले कता गर्नुपर्यो। त्यसपछि भएता अभियान भनेर थाल्नुभयो। अहिले फर्केर पछाडि हेर्दा कोही नहुने अवस्था आएपछि पार्टीमा आउँछु भन्नुभयो।’
अहिले पार्टीले गौतमसँग सहकार्य गर्ने मात्रै निर्णय गरेको उल्लेख गर्दै राजेन्द्रले हतारिएर एकता प्रक्रियामा नजाने बताए। वामदेव एमाले छिर्न हतारिरहेको अवस्थामा एमाले भने उनलाई तत्कालै स्वागत गर्ने पक्षमा उभिएको छैन।
मंगलबार बसेको सचिवालय बैठकले नेता वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य मात्र गर्ने निर्णय गरेको भएपनि वामदेवले भने आफू एमाले भइसकेको बताउन थालेका छन्।
वामदेवले आफू नमरुन्जेल एमालेमा जान लागेको कुरा माघ ६ गते कान्तिपुरले लिएको अन्तर्वार्ताका क्रममा बताएका थिए। ‘यति कुरा हो कि म एमालेमा नमरुन्जेल काम गर्न जाने हो,’ कुराकानीका क्रममा वामदेवको भनाइ थियो।
एमालेमा फर्कन आफू दुई वर्षदेखि संवादमै रहेको समेत उनको जिकिर छ। वामदेवले एमालेमा फर्कने कुरा गरेपनि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेशका लागि पनि कुराकानी गरिरहेका थिए। नेपालको नेकपा एसमा तेस्रो वरीयता लिएर जाने लगभग निश्चित भइसकेपछि वामदेव फर्किएर फेरि एमाले जान लागेको कुरा सार्वजनिक गरिदिए।
पुस १७ गते नेकपा एसको पार्टी कार्यालयमा भएको छलफलपछि वामदेव आफैँले आफू नेकपा एसमा जान लागेको बताएका थिए। ‘माधवजी र म एकजुट हुने भइयो नि त,’ सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले भनेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले सचिवालय बैठकले वामदेवसँग सहकार्य गर्ने निर्णय गरेपनि एमालेमा नेताहरूले वामदेवप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। वामदेवको अस्थिर चरित्रका कारण एमालेका नेताहरुले नै वामदेवको आलोचना सुरु गरेका हुन्।


