काभ्रेपलाञ्चोक- मंगलबार दिउँसोबाट काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा सुरु भएको आगो निभाउनका लागि हेलिकोप्टर खटिएको छ।
आगलागी भएको चार दिनपछि सरकारले बल्ल आगलागी भएको देखेपछि निभाउनका लागि सेनालाई जिम्मा दिएको हो। बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार शुक्रबार दिउँसोबाट हेलिकोप्टरमार्फत् पानी लगेर आगो नियन्त्रणको प्रयास थालेको हो।
सिम्रिक एयरको हेलिकोप्टरबाट आगलागी नियन्त्रणका लागि पानी खन्याउने काम भइरहेको अध्यक्ष अधिकारीले बताए। वन्यजन्तु र जडिबुटीका लागि प्रख्यात मानिने यस जंगलको एक सय हेक्टरभन्दा बढी भू–भाग आगलागीबाट सखाप भइसकेको छ।
जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ।
आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो।
आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए।


