काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई पैसा फिर्ता गराउन पहल गरिनुपर्ने बताएका छन्।
बिपी चिन्तन प्रतिष्ठानले आज आयोजना गरेको ‘सहकारी क्षेत्रमा आएका समस्या समाधानका उपाय’ विषयक अन्तरक्रियामा उनले समस्या देखिएका सहकारीका सञ्चालक र तिनका परिवार मोटाउने र बचतकर्ता पीडित हुने, बचत फिर्ता नपाउने अवस्था देखिएकाले सञ्चालक एवं तिनका परिवारका सदस्यको सम्पत्तिबाटै पैसा फिर्ता गरिनुपर्ने बताएका हुन्।
सहकारी विकास बोर्डका पूर्व उपाध्यक्ष एवं सहकारी महासङ्घका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले मुलुकको उत्थानका लागि सहकारी वरदान सावित हुने भए पनि दलले यसलाई व्यवस्थित गर्न चुकेकै कारण समस्या आएकाले समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
महासङ्घका पूर्वअध्यक्ष मीनराज कँडेलले ३० हजार सहकारीमध्ये एक सय ५० मा मात्र समस्या आएको बताउँदै अरू सहकारीले राम्रो काम गरेको बताउनुभयो। नराम्रो गर्ने थोरै सहकारीका कारण राम्रो काम गर्ने धेरै सहकारीलाई बदनाम हुनबाट बचाउनुपर्नेमा उनको जोड छ। बचतकर्ताको पैसा दुरुपयोग गर्ने सञ्चालकको सम्पत्ति बेचेर भए पनि छिटोभन्दा छिटो पीडितलाई पैसा फिर्ता गरिनुपर्नेमा पूर्वअध्यक्ष कँडेलले पनि ऐक्यबद्धता जनाए।


