सौराहा- वन्यजन्तु पर्यटनका लागि ख्याति कमाएको सौराहामा पर्यटकीय माहोल बढेको छ। अघिल्लो वर्षभन्दा यो पटक आन्तरिक पर्यटक धेरै बढेको होटल व्यवसायी बताउँछन्। साँझपख राप्ती नदी किनारका रेस्टुरेन्ट भरिएका देखिन्छन्। किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन्।
बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव सौराहामा देखिन्छ। त्यस्तै बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण को रुपमा रहेको छ जिप सफारी र हात्ती सफारी ।
कुमरोज मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकले जिप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन्।
यस सामुदायिक वनभित्र विभिन्न जङ्गली जनावरहरू नजिकबाट अवलोकन गर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो। यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदी तटीय वन र सालका जङ्गल एकैसाथ अवलोकन गर्न सकिन्छ।
वन्यजन्तुमा बाघ, गैँडा, हात्ती, चितुवा, चित्तल, मृग, मयुर, जङ्गली बँदेल लगायत विभिन्न प्रजातिका चराहरू हेर्न पाइन्छ। यो वन घुम्ने पर्यटकबाट वार्षिक ४ करोड रुपैयाँ हाराहारीमा आम्दानी हुने गरेको छ। आम्दानीको ६० प्रतिशत संरक्षणको क्षेत्रमा र ४० प्रतिशत सामाजिक काममा खर्च हुने गरेकोछ।
कुमरोज सामुदायिक वनमा २ हजार १०९ घरधुरी आबद्ध छन्। सामुदायिक वनले बिरामी भएका सदस्यलाई ५ देखि ३० हजार रूपैयाँ सहयोग गर्ने गरेको छ।
त्यस्तै, खानेपानी जडानका लागि ६ हजार, सुत्केरी भत्ता २ हजार, दूध उत्पादक किसानलाई प्रतिलिटर ५० पैसा उपलब्ध गराउँछ। साथै आदिवासी, जनजातिका लागि माछापोखरी र होमस्टे सञ्चालन गर्न वनले सहयोग गरेको छ।



















तस्बिर : नेपाल फोटो लाइब्रेरी


