काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताबाट अस्वीकृत भएकाहरूले नै सरकारविरूद्ध भ्रम फैलाइरहेको आरोप लगाएका छन्।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै पोखरेलले कांग्रेस-एमाले सरकारलाई अप्राकृतिक भनेर जनतालाई दिग्भ्रमित बनाउन खोजेको आरोप लगाए।
लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्ने कुरा प्राकृतिक भएको उनको जिकिर छ। अबको चुनावमा कांग्रेस र एमालेले एकल प्रतिस्पर्धा गर्ने बताएका उनले सबल राजनीतिक दल देशका लागि आवश्यक भएको बताए।
‘देश बनाउनको लागि धेरै राजनीतिक दल होइन ठूला र बलिया राजनीतिक दल आवश्यक छन्,’ उनले भने, ‘अब नेकपा एमाले र नेपाली कांग्रेस कसैको बैसाखी नटेकी निर्वाचनमा जान्छन्। त्यसपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने दिन सकिनेछ।’
प्रधानमन्त्री केपी शर्मा ओली निराश समाजमा आशाको संवाहक भएको जिकिर गरे। एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको उनको भनाइ छ।
‘अबको युग युवाको युग हो, युवाको साथमा नेकपा एमाले छ,’ उनले भने।


