काठमाडौँ – राष्ट्रियसभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा नलाग्ने हो भने जिब्रो पड्काएर मात्र केही नहुने बताएका छन्।
शनिबार एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान पनि गरे।
उनले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लागनुपर्ने उल्लेख गरे।
नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै गौतमले सरकार दलाल हो भनेर आलोचना गर्नु दुःखद् भएको बताए। नेकपा एस र माओवादीले कांग्रेससँग मिलेर निर्वाचन लड्ने, सरकार बनाउने र फेरि पनि मिल्न पाए मिल्ने अनि अहिले सरकार दलाल हो भनेर आलोचना गर्नु उचित नभएको बताए।
‘तपाईं तयार हुनुहुन्छ कि हुनुहुन्न समाजवाद निर्माणका लागि। आलोचना त गर्नुभयो यो सरकार दलाल सरकार हो भनेर। तपाईं सरकारमा भएको भए के हुन्थ्यो ?,’ गौतमले भने, ‘तपाईंको पार्टी सरकारमा गएन। चुनावमा पनि त्यही काँग्रेससित मिलेर, सरकारमा पनि त्यही कांग्रेससित मिलेर। अनि कांग्रेस के हो, कम्युनिष्ट के हो, भनेर बखान गर्नुहुन्छ ? भत्भताउनु हुन्छ। त्यहाँ मिलेर आउनुहुन्छ। पाए अहिले पनि मिल्ने कोशिस छ।’


