काठमाडौँ- काठमाडौँस्थित घरबाट हिँडेका पवन थापा १८ दिनसम्म सम्पर्कविहीन भएका छन्। पुस २६ गते पछिल्लो पटक काठमाडौँको तारेभिरस्थित एक रिसोर्टमा पुगेका थापा सम्पर्कविहीन भएपछि आफन्तले खोजी कार्यलाई तीव्रता दिन माग गरेका छन्।
पुस २५ गते बिहान साढे १० बजे घरबाट निस्किएका थापा ११:०७ मा तारेभिरस्थित एक रिसोर्ट पुगेका थिए। कालो-हरियो ज्याकेट र खैरो ट्राउजर लगाएका पवन गहुँगोरो वर्णका उनी स्कुटरमा रिसोर्टसम्म पुगेका थिए। ५ फिट ५ इन्च उचाइ भएका उनी घरजग्गा व्यवसायमा गर्दै आएका थिए। पवन रिसोर्टसम्म पुगेको कुरा १५ दिनपछि मात्र खुलेको हो।
रिसोर्टमा पुगेका उनले स्कुटरको चाबी सोही रिसोर्टको काउन्टरमा छोडेका थिए। काउन्टरमा चाबी राख्दा उनले ‘एकछिनपछि आउँछु’ भनेका थिए।
पवन सम्पर्कविहीन बनेपछि पुस २८ गते आफन्तले प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए। तर १८ दिन बित्दा पनि कुनै खबर नपाएको पवनका भाइ सुमन थापाले बताए।
पुस २६ गते दिउँसो १ बजेदेखि उनको मोबाइल स्विच अफ छ। रिसोर्टको सीसीटीभी हेर्दा केही चिज पर्खालबाट बाहिर फ्याँकेको र बाहिर गएर टिपेको जस्तो देखिएको छ। तर त्यसपछि भने कुनै पनि विवरण पाउन नसकिएको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जानकारी दिएको छ। प्रहरीले तारेभिरलाई नै केन्द्रित गरेर खोजी गरिरहेको छ।


