काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेसँग सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।
आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश दिएका हुन्।
दुई पक्षका वकिलको बहसपछि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।
सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो।
पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो।
यसअघि कास्की जिल्ला अदालतबाट ६० लाख र काठमाडौँ जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटी रकम बुझाएर लामिछाने रिहा भएका थिए।
रविविरुद्ध चितवन र पर्सामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। तर यी दुई जिल्लामा मुद्दा दर्ता भने भएको छैन।


