काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आजै एक करोड रुपैयाँ धरौटी रकम बुझाउने भएका छन्।
बुटवलस्थित सुप्रिम सहकारीबाट रकम ठगी गरेको आरोपमा जिल्ला अदालत रुपन्देहीले मागेको एक करोड धरौटी रकम बैंक ग्यारेन्टीमार्फत बुझाउने तयारी गरेका हुन्।
रुपन्देहीमा प्रभु बैंकले ग्यारेन्टी दिन लागेको हो। धरौटी रकम बुझाएपछि लामिछाने रिहा हुनेछन्।
आइतबारै जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश दिएका हुन्।
‘…मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम रु. एक करोड नगद धरौट, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाउनू,’ रुपन्देही जिल्ला अदालतका न्यायाधीश योगीको इजलासले दिएको आदेशमा उल्लेख छ।
सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो।
पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो।
यसअघि कास्की जिल्ला अदालतबाट ६० लाख र काठमाडौँ जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटी रकम बुझाएर लामिछाने रिहा भएका थिए। दुवै अदालतमा प्रभु बैंक ग्यारेन्टी बसेको थियो।
रविविरुद्ध चितवन र पर्सामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। तर यी दुई जिल्लामा मुद्दा दर्ता भने भएको छैन।


