काठमाडौँ- सरकारले ल्याएको अध्यादेशको औचित्यका बारेमा आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा तीन जना विज्ञहरुबाट अध्यादेशको औचित्यबारेमा सांसदहरुलाई प्रशिक्षण गराएका हुन्।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार अध्यादेशको आवश्यकता, विषयवस्तु लगाएतका खुलेर छलफल भएको बताए।
‘सोमबार सांसदहरुले धारणा राख्नुहुनेछ। सांसदहरुले धारणा राखेपछि मन्त्री र शीर्ष नेताले जवाफ दिनुहुनेछ,’ उनले भने।
घिमिरेले मुलुकको आवश्यकताका आधारमा अध्यादेश ल्याइएको भन्दै विरोध गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरे।
उनले अध्यादेशमा कुनै राजनीतिक बिषय र विवादास्पद विषय नभएको दाबी गरे। कांग्रेस संसदीय दल बैठक सोमबार सम्पन्न हुने घिमिरेको भनाइ छ।
बैठकमा गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेशका विषयमा सांसदहरुलाई प्रष्ट पारेको जानकारी दिए। उनले उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामबारे महामन्त्री गगन थापाले प्रस्तुत गरेका थिए।
‘आज विशेषगरी बैठकको उद्देश्यका विषयमा प्रकाश पारियो। गृहमन्त्रीबाट सरकारले गरिरहेका काम कारबाहीहरु र अध्यादेशका विषयमा सांसदहरुलाई प्रष्ट पार्नुभयो। उच्चस्तरीय संयन्त्रको आवश्यकता र त्यसले गरेको कामको बारेमा गगन थापाले प्रश्तुत गर्नुभयो‚’ गृहमन्त्रीसमेत रहेका कांग्रेस सांसद लेखकले भने, ‘तीन जना विज्ञहरुले अध्यादेशमा आएका ऐनहरुको अन्तरवस्तुको विषयमा प्रकाश पार्नुभयो। अध्यादेशको आवश्यकता र अध्यादेशका कन्टेनहरु के-के र समस्याका विषयमा खुलेर छलफल भएको छ। भोलिको बैठकमा सांसदहरुले बोल्ने क्रम शुरु हुन्छ। त्यसपछि मन्त्री र नेताहरुले जवाफ दिनेछन्। बैठक भोलि सकिन्छ। सत्ता पक्ष र प्रतिपक्षको सहमतिकै आधार विधेयकहरु बन्छ।’


