काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले हिजो ‘अन्य’ आदेश जारी गरेको हो।
झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात मगाउने आदेश गरेको हो।
झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोप लागेको थियो।
एक पीडितले झालाई २ करोडको चेक दिएको खुलेपछि झालाई प्रहरीले पक्राउ गरेको थियो। आफू पक्राउ परेपछि टोखा नगरपालिका-६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए।


