काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तेह्रथुम जाँदै छन्।
सोमबार र मंगलबार तेह्रथुमका विभिन्न स्थानमा पार्टीका कार्यक्रममा सहभागी हुन प्रचण्ड आज त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ।
उनले आज लालीगुराँस नगरपालिका-७ लसुनेस्थित शहीद धनरूपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ।
त्यसपछि प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। उनीसँगै उपमहासचिव वर्षमान पुन पनि रहनेछन्।
उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागेर १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको मृत्यु भएको थियो।
प्रचण्ड मंगलबार जिल्लाका कार्यकर्ता, शहीद परिवारलाई भेटघाट गर्नुका साथै कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ।


