लसुने- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने विषय अवसरको खोजीभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्। तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको कमी, माटोको माया नगर्ने प्रवृतिका कारण विदेश जाने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका हुन्।
‘मलाई कता कता आजभोलि देशभक्तिको भावना कमी हुँदै गएको हो कि? आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको हो की? भन्ने चिन्ता लागेको छ,’ उनले भने, ‘हामी हाम्रा छोराछोरीहरुलाई, हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैँ धनी, आफैँ आत्मनिर्भर बन्ने बाटो तर्फ प्रेरित गरौँ। विदेस पठाउन हतार नगरौँ।’
कहाँ के हुने भन्ने कुरा विदेशमा पनि टुंगो नभएको उनको भनाइ थियो। अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौँ प्रवासीलाई विस्तापित गर्न थालिएको कुरा स्मरण गर्दै उनले भने, ‘कतिबेला हजारौँ नेपालीहरु फर्केर नेपाल आउँनुपर्ने हो टुंगो छैन। त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठुलो लडाई भएर नेपालीहरु फर्किन पर्ने हो टुंग्गो छैन। हामीले आफ्नै देशको माटोमा पौरख गरौँ। स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौँ।’
देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मेहनत र पराक्रमका दृष्टिले अब्बल रहेको तथा क्षमता र साहसका दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित भएकाले नेपालीहरुले यी सम्भावनालाई अवसरमा बदल्नुपर्ने उनको भनाइ थियो।
उनले कोशी प्रदेश अन्य क्षेत्रभन्दा पनि विकासित भएको उल्लेख गरे। ‘हामी नेपाली। त्यसमा पनि कोशी प्रदेश देशको अन्य क्षेत्र भन्दा आर्थिक, र उत्पादक शक्तिको अलिक राम्रो विकास भएको ठाउँ हो। यहाँ राजनीतिका चेतना र पहिचानको निम्ति, आत्मसम्मानको निम्ति पटकपटक संर्घष भएको ठाउँ हो,’ उनले थपे, ‘अहिले पनि यस क्षेत्रका जनताले संविधानलाई उत्पीडित जाति क्षेत्र, धर्म लिङ्गका समुदायको हक अधिकार र पहिचानलाई संविधानमा अझ राम्रोसँग स्थापित गर्न पर्यो। आवाज उठाउने क्षेत्रको हो। हामीले कोशिस गरेका छौँ। संविधानमै भएको राम्रा व्यवस्था समेत कार्यान्वयन भएको छैन। यहाँ उठिराखेको आवाजले संविधानमा सकारात्मक संसोधन गर्न मदत गर्नेछ। यो देश यो क्षेत्र सबै हिसाबले प्राकृतिक स्रोत र साधन, जनशक्तिले यहाँ उत्पादन हुने उत्तीस,अमलिसो अलैँची अदुवा उत्पादन हुन्छ। हावापानी पनि राम्रो यही मिहनेत गर्यो भने विदेसमा भन्दा पनि राम्रो कमाउन सक्छौँ। देशमा भौतिक पूर्वाधारको पनि विकास र सहजता हुँदै गएको छ। तर युवाहरुलाई हामीले किन देशमै राख्न सकेका छैनौँ भने देशमा टेक्नोलोजीको विकास मार्फत उत्पादनमा गुणात्मक वृद्धि गर्न सकियोस् भने अर्को दृष्टिकोणको कुरा हो। हामीप्रति देश र माटो प्रतिको माया भए दुःख गरेर भएपनि देशमै बसेर माटोमै रहेका आफैँ आत्मनिर्भर हुने काम गर्छ।’
अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध र सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको बताए।


