आठराई- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुमको आठराईमा दुई दिन बिताउने भएका छन्। सोमबार आठराई पुगेका प्रचण्ड मंगलबार पनि केही कार्यक्रमहरूमा सहभागी भएर त्यहाँबाट प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
आठराई गाउँपालिका प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीको जन्मस्थान हो। सोही स्थानमा ओलीले विद्यालयीय शिक्षा सुरु गरेका थिए। उता प्रचण्डले भने आठराईकै शारदा माविमा शिक्षक पदमा नियुक्ति लिएका थिए। प्रचण्डले शिक्षक पदमा नियुक्ति लिएको भने जनयुद्ध सुरु हुनुभन्दा पहिलेकै कुरा थियो। तर त्यसबेला सदरमुकामबाट टाढा भएको भन्दै प्रचण्डले लामो समय विद्यालयमा काम नगरी छोडेका थिए। यो कुरा २०४०/४१ सालतिरको थियो।
त्यसअघि प्रचण्डले गोरखा आरुघाटमा शिक्षण गरेका थिए। शिक्षण पेसा छोडेर उनी भूमिगत राजनीतिमा लागे।सोमबार प्रचण्डले पुराना दिन सम्झँदै भने, ‘पढाउन गएको भए परिस्थिति अर्के हुन्थ्यो होला।’
सोमवार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका-३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास तथा सोही स्थानमा निर्मित ह्वाकू बगाले शहिद पार्कको उद्घाटन गरे।

माओवादी तेह्रथुमका नेता रघु गौतमका अनुसार स्मारक निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको छ।
विसं २०५८ माघ १४ गतेका दिन उक्त स्थानमा भएको भिडन्तमा १८ जना माओवादी सेनाका लडाकु र ३ जना स्थानीय मारिएका थिए।
स्थान प्रधानमन्त्री ओलीको गाउँ साविकको इवा गाविस-२ तथा हालको आठराई गाउँपालिका-४ खानीगाउँ नजिकै पर्छ।
प्रमुख दुई कम्युनिस्ट घटक एमाले र माओवादीबीच सशस्त्र माओवादी युद्धलाई जनयुद्ध वा हिंसात्मक द्वन्द्व भन्ने विषयमा मतभेद जारी रहेका बेला प्रचण्डले ओलीको गाउँमा जनयुद्ध स्मारकको शिलान्यास गरेका हुन्। सो क्षेत्रबाट कोशी प्रदेशसभामा माओवादी केन्द्रका दुर्गा चापागाईँ निर्वाचित भएका छन्।
केपी ओलीको जन्मघर नजिकै निर्माण हुन लागेको सङ्ग्रहालय ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ। तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले विसं २०७९ सालमा उक्त स्थानमा स्मारक र सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो।
स्मारक शिलान्यास कार्यक्रममा प्रचण्डले जनयुद्धमा पहिलो पटक ठूलो नरसंहार भएको स्थानलाई राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिने बताए।
‘यो क्षेत्रमा सङ्ग्रहालय निर्माण गरेर पूर्व क्षेत्रको ऐतिहासिक राजनीतिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ,’ प्रचण्डले भने।
एमाले र कांग्रेस सम्मिलित गठबन्धनप्रति कटाक्ष गर्दै प्रचण्डले यो गठबन्धन दल र दल मिलेर नभई दलाल-दलाल मिलेर निर्माण गरेको आरोप लगाए।
शिलान्यास कार्यक्रममा उक्त घटनामा मारिएका सबै २१ जनाका परिवारका सदस्यलाई प्रचण्डले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
मंगलबार बिहान आठराई गाउँपालिका–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने र कन्दङवाको शालीक अनावरण गर्ने कार्यक्रम छ।
दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ।
सोमबार बिहान काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमा बसन्तपुर उत्रिएका उनले त्यहाँको चोत्लुङ पार्क अवलोकन गरे। त्यसपछि लालीगुराँस नगरपालिका–७ लसुनेस्थित सहिद धनरुपा कार्की नाममा स्थापना गरिएको पार्क उद्घाटनमा सहभागी भएका थिए।


