नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माणका विषयमा भएको विवादका क्रममा पक्राउ परेका व्यक्तिलाई रिहा गर्न माग गरेका छन्।
बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सांसद भट्टराईले यस्तो माग अघि सारेका हुन्। आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न उनले सरकारसँग माग गरे।
केवलकार निर्माणका सम्बन्धमा देखिएका विवाद वार्ताबाट समाधान गरी केबलकार निर्माण कार्यलाई गति दिनका लागि विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ।
केवलकार कम्पनीले सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र संवर्द्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण गर्न पनि माग गरेका थिए।
पाथीभरा केवलकारका विषयमा १९ बुँदे धारणा सार्वजनिक गर्दै उनले संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पूरा गरेको उल्लेख गरे।
लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान गर्ने भन्दै वार्ताबाट समाधान खोज्न जोड दिए।
उनले केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्वाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनुपर्ने धारणा राखे।
केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिनुपर्ने बताए।
केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने र यसबाट समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने उनले बताए।
