काठमाडौँ– विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय भएको जानकारी दिए।
‘सरकारले सदन बोलाउने बेलामा अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ। अर्थ समितिमा विचाराधीन विधेयकलाई पनि अध्यादेशबाट ल्याएको छ,’ उनले भने, ‘विधि, प्रक्रियाको हिसावले छिटो गर्ने भन्ने छ त्यसमा बेठिक भयो। त्यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ।’
शुक्रबारबाट सञ्चालन हुने संसद अधिवेशनमा अध्यादेशसहित जनसरोकारका विषयहरु एकमत भएर उठाउने उनले बताए।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी थिए।


