विराटनगर- मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनाको अनुसन्धानका लागि एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मृत बालिकाका मावलीतर्फका हजुरबुबा ५७ वर्षीय सर्जुक यादव छन्।
मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर-५ का मृतक बालिकाका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएको हो।
भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मामाघर विराटनगर आएकी थिइन्।
चाँदनीलाई हजुरबुबाको साथमै छाडेर उनका आमाबुबा भारत फर्किए।
५/६ दिनयता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरे।
सर्जुकले नातिनी भारत फर्किसकेको जवाफ दिए। तर छिमेकीहरू विश्वस्त बनेनन्। स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरे। त्यसपछि बालिकाको खोजी सुरु भयो।
खोजी गर्ने क्रममा सर्जुकको घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको थियो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ।


