काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ। शुक्रवार बसेको निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोललगायतका इन्धनको मूल्य बढाएको हो।
निगमले एक लिटर पेट्रोलमा दुई रुपैयाँ र डिजेल/मट्टितेलमा चार रुपैयाँ बढाएको छ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरका दरले बढाएको हो।
मूल्य समायोजनसँगै पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जका डिपो)का लागि पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा पर्ने छ।
दोस्रो वर्ग (सुर्खेत र दाङका डिपो)मा १६६ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायलका डिपो) का लागि प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ।
डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर रु १५७.५, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ तोकिएको छ ।
यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार ३ अमेरिकी डलर तोकिएको छ।
निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ।
इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १.५९, डिजेलमा रु ३.५७ तथा हवाई इनधनमा रु ५.७० ले बढेर आएकाले मूल्य समायोजन गरिएको सरकारको भनाइ छ।


