काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग एमसीसी परियोजनाका लागि सुरक्षाको प्रत्याभूतिको माग गरेका छन्। शनिबार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भेट गर्दै उपाध्यक्ष ब्रुक्सले यस्तो माग गरेका हुन्।
उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोली मन्त्री श्रेष्ठलाई भेट गर्न शनिबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेको थियो। भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा सहयोग गर्न आग्रह गरेका थिए।
‘परियोजनाका आगामी गतिविधिहरुमा मूल रुपमा प्रमुख जिल्ला अधिकारीहरु संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ति, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको पार्टमा गृह मन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गर्नुभएको छ,’ भेटबारे जानकारी दिँदै गृहसचिव दिनेश भट्टराईले भने, ‘माननीय उपप्रधानमन्त्रीज्यूले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरुबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन उपलब्ध गराउनु भएको छ।’


