काठमाडौँ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सोमबार सरकार र आन्दोलनकारीबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ।
सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ताले कुनै पनि निष्कर्ष निकाल्न नसकेको हो।
मङ्गलबार बिहान ११ बजे पुनःवार्ता बस्ने गरी केहीबेर अघि वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले बताए।
सरकारले वार्ता सकारात्मक भएको दाबी गरेको छ। ‘वार्ता सकारात्मक भयो। तर निष्कर्ष निस्किएको छैन, भोलि ११ बजे पुनः बस्ने सहमति भएको छ,’ उनले भने।
वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ।


