काठमाडौं– सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिबारे जानकारी लिन काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) विद्यालयन निरीक्षणमा निस्किएका छन्।महानगर प्रमुख मेयरले शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज र पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजारको शिक्षण सिकाइलगायत विषयमा निरीक्षण तथा अनुगमन गरेका हुन्।
मेयर बालेनले गत साता दरबार हाइस्कुल अवलोकन गरेका थिए। प्रमुख साहले भने, ‘म काठमाडौं महानगर प्रमुखको रूपमा निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रको विकास र सुधारका कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेको छु। पछिल्लो समय हरेक शुक्रबार विद्यालयमा विद्यार्थीसँगै बस्ने र सँगै बसेर सिक्ने गरेको छु।’
उनले शिक्षामा सीप कार्यक्रममार्फत विद्यार्थीसँगै बसेर सिक्न मौका पाएको अनुभव सुनाए। बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकको सहभागिताबारे बुझ्न अवसर मिलेको उनको भनाइ छ। निरीक्षण अनुगमनका क्रममा शिक्षामा सीप कार्यक्रमले विद्यार्थीको भविष्य निर्माणका लागि पार्ने प्रभावबारेमा पनि बुझ्ने मौका मिलेको उनले सुनाए।
मेयर बालेनले भने, ‘विद्यालयको वर्तमान अवस्था, समग्र विकासका लागि आवश्यक पर्ने पूर्वाधार, स्रोत–साधन र अन्य आवश्यकताबारे जानकारी लिएको छु।’ शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेक्ट्रोनिक्स गरी दुई वटा कक्षा सञ्चालनमा छन्। डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रममा सीपमा शिक्षा कार्यक्रमअन्तर्गत स्केचिङ र मूर्तिकला, फेसन र कपडा निर्माणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।
‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत विद्यार्थी पत्रपत्रिका पठन, भाषण तथा कविता वाचन कला, खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशालाजस्ता विधा र क्षेत्रमा सहभागी भएका छन्। प्रमुख साहले निरीक्षण अन्त्यमा शौचालयको उपलब्धता, अवस्था र सरसफाइको पक्षसमेत हेरेका थिए।


