म्याग्दी-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताबाट हटेपछि गल्ती भएको स्वीकार गरेका छन्। अब पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन्।
माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन्।
प्रचण्डमाथि सत्तामा हुँदा काम काम नगर्ने तर सत्ताबाट हटेपछि आफूप्रति सेन्टिमेन्ट बटुल्नका लागि पुराना आधारहरूलाई सम्झने गरेको भन्दै आलोचना हुने गरेको छ।
नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाइ गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उनले अब गम्भीर आत्मसमीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको उनले उल्लेख गरेका हुन्।
‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौँ’, अध्यक्ष प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौँ ।’
पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्त रूपमा जनताको बिचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए ।
‘हिजो क्रान्तिको बेलामा जङ्गलमा होइन, जनताको काखमा थियौँ बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जङ्गलमा फसेजस्तो भयो। फेरि अब हामीले त्यो घेरा तोडेका छौँ’, अध्यक्ष प्रचण्डले भने, ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डाका साथ अघि बढ्ने छौँ।’
अहिले प्राप्त चेतना र जिम्मेवारीबोधसाथ २०६४ को जनमतबिच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने प्रचण्डको भनाइ छ ।
‘८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिङ्गो पार्टी पङ्क्ति देशव्यापी अभियानमा जुट्ने छ’, प्रचण्डको भनाइ छ ।
उनले आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको बताए ।


